काठमाडौं—राष्ट्रिय युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी हुन ओली बिहान ११ बजे पोखरा जाँदै छन् । उनी राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष पनि हो ।
आजै उद्घाटन सत्र सकिएपछि बन्द सत्रको कार्यक्रम सुरु हुने छ । बन्द सत्रमा संगठनका नीति तथा कार्यक्रम पास भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरु हुने छ ।
निर्वाचन कार्यक्रम सुरु हुनु अघि नै सर्वसम्मत नेतृत्व चयनको लागि नेताहरू छलफलमा जुटिसकेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि बिहीबार साँझ पोखरामा एमाले जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, पार्टी नेताहरू महेश बस्नेत, किरण पौडेल, निरुदेवी पाललगायतका नेताहरू समेत उपस्थितिमा युवा संघका पदाधिकारी बैठक बसेको थियो । बैठकमा सकेसम्म नयाँ नेतृत्व सर्वसम्मतिमा चयन गर्ने विषयमा छलफल भएको छ ।
महाधिवेशनले ९ पदाधिकारी सहित १ सय ५१ सदस्सीय नयाँ नेतृत्व चयन गर्ने छ ।
अध्यक्षका लागि महाराज गुरुङ, कृष्णहरि केसी र महासचिव सुमन पुरी आकाङ्क्षी छन् । संगठनका वर्तमान अध्यक्ष क्षितिज थेबेको पनि चर्चा छ ।
महासचिव पदको लागि महेश चौलागाईं, विनय शाह, निरोज पौडेल, कुवेर अधिकारी र पर्वत भण्डारी लगायत आकाङ्क्षी देखिएका छन् । आकाङ्क्षीहरूलाई छलफलमा राखेर सर्वसम्मतिको बाटो खोजिने बताइएको छ ।




















