विराटनगर— कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा दिएको पछिल्लो अभिव्यक्ति अहिले गम्भीर बहसको केन्द्र बनेको छ। प्रदेश सभाको रोस्ट्रमबाटै उनले गृहमन्त्री रमेश लेखकलाई प्रत्यक्ष चुनौती दिँदै प्रहरी प्रशासन, गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको भ्रष्टाचारको संस्थागत मिलेमतोको पर्दाफास गरे।

उनले प्रहरीमाथि व्यापारीहरूसँग गैरकानुनी रकम असुली गर्ने, दिनभर धम्क्याउने र राति ट्रकहरू छिराउने आरोप लगाए। "एसपी साब, अस्तिको पाँच लाख कहाँ गयो?" भन्दै गृहमन्त्रीसम्म सन्देश पुर्‍याउन आग्रह गरेका कार्कीले यो प्रकरणले गम्भीरताका साथ छानबिन गर्नुपर्ने माग गरे।


कार्कीले न्यायालय र अख्तियारलाई भ्रष्टाचारको केन्द्रको रूपमा चित्रित गरे। उनले ठूला घोटालामा मुछिएका व्यक्तिहरूलाई संरक्षण गर्ने प्रणालीलाई निशाना बनाउँदै भने, "न्यायालयमा पैसा तिर्न सक्नेहरूको मात्र सुनुवाइ हुन्छ।"

उनले ललिता निवास प्रकरणका अभियुक्तहरूको मुद्दालाई उदाहरण दिँदै न्याय प्रणालीको असक्षमतालाई व्यंग्य गरे।

मोरङको जोगबनी नाकालाई भ्रष्टाचारको संगठित केन्द्रका रूपमा व्याख्या गर्दै उनले स्थानीय व्यापारीहरूबाट गैरकानुनी असुली र प्रहरी–व्यापारी मिलेमतोका गतिविधि सार्वजनिक गरे। "रक्षक नै भक्षक भएपछि सुशासन सम्भव हुँदैन," उनले भने।

स्थानीय निकाय, विशेषगरी विराटनगर महानगरपालिकामा भ्रष्टाचार चरम अवस्थामा पुगेको भन्दै कार्कीले जनप्रतिनिधिहरूको ठेक्कापट्टामा संलग्नतामाथि प्रश्न उठाए।

स्वास्थ्य क्षेत्रमा भ्रष्टाचारको उदाहरण दिन उनले डिल्लीराम खड्काको घटना प्रस्तुत गरे। "नोबेल अस्पतालमा एक रात उपचार गर्दा ३ हजार खर्च भयो तर हरैंचाको स्वास्थ्य चौकीले बीमा कार्डबाट २९ हजार काट्यो," भन्दै उनले स्वास्थ्य सेवामा सुधारको माग गरे।

नीति तथा कार्यक्रममा ठूला घरानाका नेताहरूलाई संरक्षण गर्ने नीतिप्रति व्यंग्य गर्दै उनले भने, "सर्वहारा जनताको अवस्था सुधार्ने बेला ठूला घरानालाई पो संरक्षण गर्दैछ प्रदेश सरकार।"

कार्कीले आफू जेल जान र सुकरातझैं विषपान गर्न तयार रहेको तर भ्रष्टाचारसँग सम्झौता नगर्ने प्रतिज्ञा गरे।

कार्कीको यो विस्फोटक अभिव्यक्तिले प्रहरी, गृह मन्त्रालय, अख्तियार, सर्वोच्च अदालत, स्थानीय निकायलगायत प्रदेश सरकारमा व्याप्त भ्रष्टाचार उजागर गरेको छ। यी आरोपहरूको सत्यतथ्य छानबिन गरी जवाफदेहिता प्रस्तुत गर्नु प्रदेश सरकारका लागि प्रमुख चुनौती बनेको छ।