काठमाडौं—नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औँ महाधिवेशनमा क्षितिज थेबेलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवार बनेका महासचिव सुमन पुरीले आफ्नो टीम बनाएका छन् ।

प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका पुरीले पदाधिकारी र ४ आयोगको अध्यक्षमा टीम सार्वजनिक गरेका हुन् । सोमबार हुने मतदानका लागि आइतबार मनोनयन दर्ताको समय तोकिएको थियो । मनोनयन दर्ता गर्ने समयमा दुवै अध्यक्षका उम्मेदवारहरु पुरी र थेवे दुवै जनाले पार्टी निर्देशनबिपरित प्यानल बनाएर उम्मेदवारहरू खडा गरी चुनावमा होमिएका हुन् ।

पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतमले उम्मेदवारी दिएका छन्  । यस्तै महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्माको उम्मेदवारी दिएका छन् ।

त्यस्तै सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी रहेको छ  । महिला सचिवमा रेशु तामाङ र मधेसीतर्फ चितरञ्जन यादवले उम्मेदवारी दिएका छन  ।

पुरीको प्यानलबाट निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोगमा विक्रम गुरुङ, अनुशासन आयोगमा अजयजङ्ग शाही तथा युवा विज्ञ परिषद्को अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषले उम्मेदवारी दिएका छन् । नेतृत्व चयनको लागि सोमबार मतदान हुँदै छ । सोमबार नै निर्वाचनको नतिजा आउने छ ।