काठमाडौं—नेकपा (एमाले) को भ्रातृसंगठन राष्ट्रिय युवा संघको नेतृत्वका आज मतदान हुँदै छ । निर्वाचन समितिले सूचना टाँस गर्दै बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ । पोखरामा पहिलोपटक युवा संघको महाधिवेशन भएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी १०औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न शुक्रबार (जेठ ९) उद्घाटनसत्रमा आग्रह गरेका थिए  । सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धा गर्न उनले निर्देशन दिएका थिए  । उद्घाटनपछि बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गरिएको छ । त्यसपछि नेताहरूले सर्वसम्मत नेतृत्व चयनको प्रयास थालेका थिए । तर, सहमति सम्भव नभएपछि मतदानका निम्ति शनिबार राति ४५ वटा विद्युतीय मेसिन ल्याइएको छ । महाधिवेशनमा एक हजार ७५० प्रतिनिधि छन् ।

क्षितिज थेबेको पक्षमा देखिए बहुमत प्रतिनिधि

आइतबार तोकिएको समयमा हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गराए । आफ्ना समर्थक सहित नारा जुलुस गरेर दुवै उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्ता गराउन पहिला थेबेको टोली गएको थियो । थेबेको साथमा ठुलो सङ्ख्यामा प्रतिनिधिहरू नारा लगाउँदै मनोनयन दर्ता गराउने स्थानमा पुगेका थिए ।

थेबे पछि पुरी मनोनयन दर्ताको लागि गएका थिए  । निवर्तमान उपाध्यक्ष अमित लामासहितको टोली लिएर मनोनयन दर्ता गराउन गभएका पुरीसँग जाने प्रतिनिधिहरू थेबेको टोलीको तुलनामा कम देखिन्थ्यो ।