विराटनगर–विराटनगर महानगरपालिका-३ स्थित मानगढ खानेपानी आयोजनाको अध्यक्षमा लालमणी भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा एमालेकै संस्थापन पक्ष र नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै भट्टराईले नेतृत्व हात पारेका हुन्।
मतगणनाको अन्तिम परिणाममा अध्यक्ष भट्टराईले १ हजार ८८९ मत प्राप्त गरेका हुन् । भट्टराईसँगै प्रतिस्पर्धी रामबहादुर घिमिरेले १ हजार १५४ मत प्राप्त गरे । भट्टराईसँग घिमिरेको मतान्तर ७३५ छ । अध्यक्ष प्रतिस्पर्धी दुर्गा चापागाईँले ६३५ मत मात्रै प्राप्त गरेकी छिन् ।
तीनवटा प्यानल निर्वाचनमा होमिएको थियो । जसमा नेकपा एमाले निकट प्यानल भट्टराई र घिमिरेको थियो । नेपाली काँग्रेस आवद्ध दुर्गा चापागाँई थिइन् ।
निर्वाचन परिणाम सार्वजानिक हुँदा मिश्रित देखिएको छ । महिला उपाध्यक्षमा चापागाईँ प्यानलकी सावित्रा पोखरेल निर्वाचित भइन् । उनले १ हजार २०३ मत प्रात गरिन् । महिला उपाध्यक्षका उम्मेदवारहरू सावित्रा कुमारी न्यौपानेले १ हजार १३९ र देवीमाया बास्तोलाले ७८८ मत प्राप्त गरिन् ।
खुला उपाध्यक्षमा पनि चापागाईँ प्यानलकै भोलानाथ घिमिरे निर्वाचित भए । घिमिरेले १ हजार ३६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षका उम्मेदवारहरू मध्ये बुद्धिप्रसाद पौडेलले ८५०, रुद्र बहादुर कार्कीले ७०९, कौशिला बन्जरा रेग्मीले ४५० र दामोदर खरालले ९८ मत पाएका छन् ।
सचिवमा भट्टराई प्यानलकै प्रदीपकुमार नेपाल निर्वाचित भए । नेपालले १ हजार ६७९ मत प्राप्त गरेका छन् । सचिवमै नगेन्द्रप्रसाद ढकालले ८४३ र पवन भट्टराईले ७४१ मत पाए । कोषाध्यक्ष पदमा सरोज घिमिरे ९६५ मत प्राप्त गर्दै निर्वाचित भए । कोषाध्यक्षका प्रतिष्पर्धीहरू मध्ये हिरण्य निरौलाले ९२०, राजेन्द्र कुमार पोखरेलले ७४७ र अन्नपूर्ण पोखरेलले ५०८ मत प्राप्त गरे ।
महिला सदस्यहरुमा दुईजना निर्वाचित हुनुपर्नेमा सात जना उमेदवार रहेका थिए । जसमा शान्ति बस्नेत रिजाल १ हजार १४९ र अञ्जु तिम्सिना कटुवाल १ हजार १५७ मत प्राप्त गरि निर्वाचित भएका छन् । दुवै महिला सदस्य भट्टराई प्यानलका हुन् ।
खुला सदस्यमा भने घिमिरे प्यानलका केशवप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार चुडामणि खतिवडा (वसन्त) निर्वाचित भएका छन् । आचार्यले १ हजार ४६ र खतिवडाले १ हजार ४८ मत प्राप्त गरेका हुन् । मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९ सय ८८ उपभोक्ता मतदाता रहेका थिए । कुल उपभोक्ताको ६६ प्रतिशत अर्थात ३ हजार ९६४ मत खसेको थियो ।
मानगढ खानेपानी आयोजनाको निर्वाचनलाई लिएर एमाले मोरङमा लामो समयदेखि विवाद चुलिएको थियो। अघिल्लो वर्ष नै निर्वाचन गर्ने तयारी भए पनि आन्तरिक गुटबन्दी र उम्मेदवार चयन विवादका कारण निर्वाचन स्थगित भएको थियो। त्यसपछि विषय अदालतमा पुगेपछि उच्च अदालत विराटनगरले पुनः मतदान गर्न आदेश दिएको थियो।


















