काठमाडौँ—नेकपा एमालेका भातृ संगठनहरूबीच आन्तरिक प्रक्रियामा देखिएको फरक व्यवहारको केही चर्चा हुन थालेको छ । पार्टी नेतृत्वले भिन्न संगठनहरूमा अपनाएको रणनीति र प्रक्रियाले पार्टीभित्र नै विभेदको संकेत गरेको भन्दै असन्तुष्टि बढेको छ।

चैत १० गते विराटनगरमा भएको प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनमा अध्यक्षका प्रमुख दाबेदार राजेश राईले निर्वाचनको माग गरेका थिए। तर, पार्टी नेतृत्वले निर्वाचन हुन नदिएपछि राईले दाबी छाड्नुपर्‍यो।

पार्टीले गणेश पाण्डेलाई सर्वसम्मत अध्यक्ष हुन सहज बनाई दिएको थियो ।

राईका समर्थकहरूले उम्मेदवार मनोनयनमा समेत अवसर नदिइएको भन्दै असन्तोष व्यक्त गरेका थिए । महाधिवेशनका क्रममा राईका समर्थकहरूको रुवावासी चलेको दृश्यले नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरेको थियो।

तर, त्यसको ठीक दुई महिना पछि, पोखरामा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनमा भने नेतृत्वले भिन्नै दृष्टिकोण अपनायो।

अध्यक्ष पदका लागि हालका अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी आ-आफ्ना प्यानल बनाएर प्रतिस्पर्धामा होमिएका छन्।

सहमतिको प्रयास पार्टी नेतृत्वले गरे पनि उम्मेदवार मनोनयन प्रक्रिया रोकिएन। यसले युवा संघका सदस्यहरूलाई आफ्ना प्रतिनिधि छनोट गर्न स्वतन्त्र अवसर दिएको छ।

पार्टी नेतृत्वले समान परिस्थितिमा फरक दृष्टिकोण अपनाउनुको कारणले आन्तरिक रूपमा नै विभेद भएको चर्चा सुरु भएको छ।

प्रेस चौतारीमा निर्वाचनको माग दबाउन नेतृत्वले हस्तक्षेप किन गर्‍यो? युवा संघमा भने खुला प्रतिस्पर्धा गर्न दिने निर्णय किन गरियो? भन्ने प्रश्न उठ्न थालेको छ ।

यो फरक व्यवहारले एमालेका भातृ संगठनहरूको विश्वासमा दरार आउने हो कि भन्ने कुरामा केही विश्लेषकहरुको भनाइ छ ।

नेतृत्वले अब पार्टीका भातृ संगठनहरूमा समान नीति अपनाउँदै सबैलाई निष्पक्ष प्रतिस्पर्धा गर्ने वातावरण सुनिश्चित गर्नु अपरिहार्य रहेको बुझिएको छ ।

आज साँझ पोखरामा युवा संघको मतदानको तयारी हुँदैछ। हालका अध्यक्ष क्षितिज थेवे र महाचिव सुमन पुरीले आ आफ्नो प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरिरहेका छन् ।

युवा संघमा खुला निर्वाचनले नेतृत्व चयनको प्रक्रियालाई पारदर्शी बनाउने सकारात्मक सन्देश दिन सक्ला , तर प्रेस चौतारीमा देखिएको असन्तोषले एमाले नेतृत्वप्रति गम्भीर प्रश्न खडा गरेको छ।