धनगढी—नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई गतिशील नेताका रुपमा सम्मान गरिएको छ । राईलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट इकाई धनगढीको दोस्रो अधिवेशन उदघाटन सत्रको अवसरमा सम्मान गरेको हो ।
श्रम आन्दोलनका गतिशील ज्वाला मजदुर आन्दोलनसंगै पत्रकारिता, साहित्य र सामाजिक विभेद र असहायहरुको सेवामा समर्पित रहेको भन्दै सम्मान गरिएको अधिवेशनको अध्यक्ष भानदेव पनेरुले बताए ।
राईलाई नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका एसएसपी तथा कार्यक्रमका विशिष्ठ अतिथि प्रकाश मल्लले सम्मान गरेका हुन् ।
सो अवसरमा राई सहित जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ललाई कुशल संगठन सम्मान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश संयोजक टेकराज जोशीलाई दूरदर्शी व्यवसायी नेतृत्व सम्मान र सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटालाई संरक्षक सम्मानबाट विभूषित गरिएको छ ।
सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र पूदान गरिएको थियो ।
अधिवेशनको उदघाटन गर्दै नेता भीमज्वाला राईले कमिसनको प्रभाव र दलालको दवावमा सरकार सार्वजनिक यातायातलाई ध्वस्त बनाउन लागिपरेको बताए ।राईले निजी सवारीसाधनले यातायातको काम गर्न नमिल्ने सवारी तथा यातायात व्यवस्था ऐनको व्यवस्थासंग बाझिनेगरी दलालहरुको उक्साहटमा सरकारले नियमावली जारी गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राईले कमिसनकै प्रभाव र दलालहरुको दवावमा रातो नम्बर प्लेटका दुईचक्के र चारचक्के सवारीलाई यात्रु बोक्न सक्नेगरी गण्डकी लगायतका प्रदेश सरकारले नियमावली जारी गरिरहेको र सार्वजनिक सवारीसाधनमा मात्रै लागु हुनेगरी बीसवर्षे नीति लागु गरेकोमा राईले आपत्ति जनाए । सवारी ऐन संशाधनको प्रकृयामा रहेको भएपनि लगानीकर्ताहरु र श्रमिकका प्रतिधिहरु सरोकार र मागमुद्धाका विषयमा चासो नरोखेको उनले भने '-संविधान विरोधी ऐन नियमावलीहरु तत्काल खारेज गर्न आग्रह गर्दै यदी खारेज नभए व्यवसायी तथा मजदुरहरु संयुक्त रुपमा सडक संघषमा जान्छौ ।'
कार्यक्रममा विशिष्ठ अतिथि नेपाल प्रहरीका एसएसपी प्रकाश मल्ल, जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश संयोजक टेकराज जोशी, संगठन प्रदेश अध्यक्ष ललित चन्द, सुदूरपश्चिम यातायात प्रा.ली.का अध्यक्ष पदमराज सापकोटा, संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा लगायतले अधिवेशन सफलताको शुभकामना व्याक्त गरेका थिए ।
भानदेव पनेरुको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन रामसिं महराले गरेका थिए ।






















