काठमाडौं— नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आलमको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो। विज्ञप्तिमा उल्लेख भएअनुसार, आलमलाई शुक्रबार बिहान करिब ७ बजे आकस्मिक रूपमा अस्पताल भर्ना गरिएको थियो।
अस्पतालले भनेको छ, "उहाँलाई अस्पष्ट बोली र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएपछि आकस्मिक कक्षमा ल्याइएको थियो। प्रारम्भिक जाँच, रक्त परीक्षण, र एमआरआईपछि मस्तिष्कघात पुष्टि भई तत्काल टीपीए औषधि दिएर उपचार सुरु गरिएको हो।"
हाल आलमको स्वास्थ्यमा सुधार भइरहेको र आईसीयूमा विशेषज्ञ स्नायु चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको जानकारी विज्ञप्तिमा उल्लेख छ।
पूर्वमन्त्री आलमको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा भ्रामक समाचारहरू फैलिएका कारण अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमा, "समस्त शुभचिन्तक र मिडियाकर्मीलाई यस विज्ञप्तिलाई नै आधिकारिक धारणा मानिदिनुहुन हार्दिक अनुरोध गर्दछौं," भनिएको छ।
आलमको स्वास्थ्यमा सुधारका लागि शुभेच्छा व्यक्त गर्दै अस्पतालले थप उपचार प्रक्रियालाई प्रभावकारी बनाउन काम गरिरहेको जनाएको छ।




















