एजेन्सी - भारतमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा भाँडामा राखिएको तरकारी भित्र एउटा जीवित सर्प भेटिएको छ । सामाजिक सञ्जालमा भइरहेका खबरका अनुसार कुनै एक गाउँमा भएको भोजमा आफन्तलाई खुवाउने तरकारीको भाँडोमा सर्प फेला परेको हो ।
आफन्तहरूलाई तरकारी खुवाइँदै गर्दा अचानक तरकारीको बाल्टिन भित्रबाट जिउदै सर्प भेटिएपछि डरले मानिसहरुको मन नै थरथर कापेको थियो । विश्वको सबैभन्दा विषालु सर्पहरु मध्ये तेस्रो स्थानमा आउने यो सर्प तरकारीको बाल्टिनमा आलु र बन्दाकोबीसँगै लडीहेको अवस्थामा फेला परेको थियो । उक्त सर्पलाई तरकारीबाट लौरोले निकाल्ने प्रयास गर्ने बित्तिकै झन् भित्र पसेको थियो ।
सर्प केही समयअघि तरकारीको बाल्टिनमा परेको भन्ने अनुमान गरिएको थियो । भण्डारा वितरण गर्न आएका एक व्यक्तिले भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेका छन् । भिडियो हेरेपछि मानिसहरु छक्क परेका छन् र पोस्टमा धेरै कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिएका छन् । कतिपयले अब भण्डारा खानुअघि सय पटक सोच्नुपर्ने लेखेका छन् । कतिपयले भने यो भगवानको आशिर्वाद हो र त्यसैले कुनै अप्रिय घटना नभएको बताए ।



















