काठमाडौ—नेपालमा लोप भइसकेको ठानिएको दुर्लभ सानो ओत १८५ वर्षपछि पहिलो पटक फेला परेको छ। डडेलधुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा यो प्रजाति स्थानीयले पत्ता लगाएका हुन्।

डिभिजन वन कार्यालय, डडेलधुराका वन अधिकृत राजीव चौधरीका अनुसार, गत मङ्सिर (नोभेम्बर २०२४) मा स्थानीयले सानो ओतको एक छाउरा समातेर वन कार्यालयलाई जानकारी गराएका थिए। उद्धारपछि उक्त छाउरा पुनः प्राकृतिक वासस्थानमा छोडिएको छ।

यो पत्ता लगाउनु नेपालका लागि ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ, किनभने सन् १८३९ पछि नेपालमा सानो ओत देखिएको यो पहिलो घटना हो। यो प्रजाति अझै जीवित रहेको वैज्ञानिक पुष्टि भएको छ।

ओतको तस्बिर विभिन्न विशेषज्ञहरूलाई पठाएर पुष्टि गरिएको थियो। अनुसन्धानमा मोहनविक्रम श्रेष्ठ, गङ्गा श्रेष्ठ, हिरूलाल डङ्गौरा, पूर्णमान श्रेष्ठ, करुण देवान, राजेश सदा, मेलिसा सेभेज, र जुओफु सियाङको टोली सहभागी थियो।

रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थल आसपास सानो ओतको बथान रहेको स्थानीयले बताएका छन्। वन अधिकृत चौधरीका अनुसार, त्यहाँ अन्य वयस्क ओतहरू पनि हुनसक्छन्। अनुसन्धानकर्मी हिरूलाल डङ्गौराले भने, ढुङ्गे बगर, शान्त वातावरण, स्वच्छ पानी, र घना वनस्पति भएको क्षेत्र सानो ओतको वासस्थानका लागि उपयुक्त रहेको देखिएको छ।

सानो ओतको पुनः अस्तित्वले जैविक विविधताको संरक्षणको आवश्यकता औंल्याएको छ। विज्ञहरूले यसको दीर्घकालीन संरक्षणका लागि थप अनुसन्धान, निगरानी, र उचित योजनाको आवश्यकतामा जोड दिएका छन्। वन्यजन्तु तथा जैविक विविधताको सन्तुलन कायम राख्न सानो ओतको संरक्षण महत्त्वपूर्ण हुने बताएका छन्।