काठमाडौं— कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेन्द्रवीर राय २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।

बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए। सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको छ।

कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो। राय ०७६ देखि ०७९ सम्म सिईओका रूपमा कार्यरत रहे। उनी पटक–पटक सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीमा पनि रहेका थिए।

बैंकमा रकम हिनामिनाको विषयमा छानबिन गर्न सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ मा छानबिन समिति गठन गरिएको थियो। समितिले रायसहितका व्यक्तिहरूले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको प्रतिवेदन दिएपछि यो मुद्दा थप गम्भीर बनेको हो।

सल्यान निवासी राय हाल बाँकेमा बस्दै आएका थिए। यस प्रकरणमा सीआईबीले रायविरुद्ध कानूनी प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।