काठमाडौँ — सार्वजनिक सवारी साधन बन्द भएको अवसरलाई दुरुपयोग गर्दै यात्रुसँग बढी भाडा लिएका ३३१ राइड सेयरिङ चालकलाई कारबाही गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, मङ्गलवार यात्रुसँग अनुचित भाडा असुली गर्ने र यात्रुलाई असुविधा दिने ती चालकहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो।

त्यसैगरी, ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २७२ राइड सेयरिङ चालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको महाशाखाले जनाएको छ।

सार्वजनिक सवारी साधन बन्दको मौका छोपेर केही राइड सेयरिङ चालकहरूले यात्रुहरूलाई अफलाइन माध्यमबाट मात्र यात्रा गराउने, बढी भाडा असुल्ने, र गन्तव्यमा पुर्‍याएपछि भाडा बार्गेनिङ गर्नेजस्ता गतिविधिमा संलग्न भएको प्रहरीले जनाएको छ।

यस्तो क्रियाकलापले यात्रुहरूलाई आर्थिक र मानसिक रूपमा प्रताडित गरेको भन्दै प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रण गर्न नियमित अनुगमनलाई तीव्र बनाउने प्रतिबद्धता जनाएको छ।