मोरङ—पूर्वी नेपालका केही स्थानमा रातिदेखि नै पानी परिरहेको छ। झापा, मोरङ, सुनसरी, सप्तरीलगायतका क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको दिनभर देशका विभिन्न भागमा यस्तो मौसम रहनेछ।

आज दिउँसोको कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ। उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा र केही स्थानमा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा रातिको मौसममा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ।

हालको मौसम अवस्था, देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ। कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेकोले वर्षाको सम्भावना उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।