काठमाडौं— एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।

पार्टीभित्र यो घटनालाई राजनीतिक पूर्वाग्रह र षड्यन्त्रको उपज भएको बहस हुन् थालेको छ । नेताहरूले भने यो मुद्दालाई राजनीतिक प्रतिशोध र केपी ओलीको षड्यन्त्रका रूपमा व्याख्या गरेका छन्।

पोलिटब्युरो सदस्य सुदेश पराजुलीले ओलीले एकीकृत समाजवादी पार्टी निर्माण भएदेखि नै पार्टीलाई कमजोर बनाउन षड्यन्त्र गर्दै आएको आरोप लगाएका छन् । पराजुलीले भने, “यदि छानबिन नै गर्ने हो भने २०४६ साल पछिका सबै मन्त्रिपरिषद्का निर्णय छानबिन गरिनुपर्छ। गिरीबन्धु टी स्टेट र गोकर्ण फरेस्टको जग्गा दुरुपयोगजस्ता प्रकरण किन उठाइँदैनन्?”

केन्द्रीय सदस्य संगिता पाख्रिनले माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र गरिएको आरोप लगाउँदै भनिन्, “जिवित प्रधानमन्त्रीहरूमध्ये माधवकुमार नेपालजस्तो सफा नियत भएको व्यक्ति आजसम्म जन्मिएको छैन। यो मुद्दा राजनीतिक बदला हो।”

उनले सामाजिक सञ्जालदेखि सडकसम्मका मानिसहरूले नेपालको निर्दोषिता समर्थन गरिरहेको दाबी गर्दै ‘क्लिनचिट’ लिएर नै सत्य प्रमाणित हुने बताइन्।