काठमाडौं—वरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले समाचार प्रकाशनसँग सम्बन्धित उजुरीको आधारमा जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको हो।

साइबर ब्यूरोका एक अधिकृतका अनुसार पक्राउपछि मात्र अदालतबाट पुर्जी लिइएको विषयमा जानकारी दिने निर्देशन प्राप्त भएको छ।

पत्रकार पाठकले काठमाडौंको नक्सालस्थित हिल्टन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवासँग सम्बन्धित समाचार प्रकाशित गरेका थिए। यस समाचारलाई लिएर जयवीरले साइबर अपराध ऐनअन्तर्गत उजुरी दर्ता गराएका थिए।

जयवीर देउवाले हिल्टन होटल खरिद गरेको भन्ने खबर पाठकले आवद्ध सञ्चारमाध्यममा प्रकाशित भएको थियो। समाचारमा जयवीरले होटलको सेयर खरिद गरेको दाबी गरिएको थियो, जसलाई लिएर जयवीरले उजुरी गरेका हुन्।

साइबर ब्यूरोले यस विषयमा छानबिन गरिरहेको र पक्राउ प्रक्रिया अघि बढाइसकेको बताइएको छ। जयवीरकै दबाबमा अदालतबाट पुर्जी लिइएको आरोप लगाइएको छ।