विराटनगर—नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य बालेश्वर कामतविरुद्ध मोरङ जिल्ला अदालतमा चार वटा मुद्दा दर्ता भएको छ । विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४१ वर्षीय कामतकी श्रीमती नम्रता काफ्लेले अंश, सम्बन्धविच्छेद, घरेलु हिंसा र गाली बेईज्जतीको मुद्दा दायर गरेकी हुन् ।
बालेश्वर माओवादी पृष्ठभूमिका एमाले नेता हुन् । जनयुद्धकालमा भूमिगत भएका र शान्ति प्रक्रियापछि माओवादी मोरङको इञ्चार्ज बनेका उनको ग्रामथान गाउँपालिकाकी ४० वर्षीया नम्रतासँग जनवादी विवाह भएको हो । पार्टीको होलटाइमर कार्यकर्ता रहेका उनीहरुले २०६१ साउन १३ गते जनवादी बिहे गरेको अदालतमा दायर फिरादपत्रमा उल्लेख छ ।
तर, विवाहको केही समयमै श्रीमानले आफूलाई शारीरिक र मानसिक यातना दिएको, नाबालक सन्तानलाई कुटपिट गर्ने गरेको र घरमा बन्धक बनाएर राखेको नम्रताको आरोप छ । फिराद पत्रमा भनिएअनुसार बालेश्वरले उनलाई चाडपर्वको बेला आफन्तकहाँ जानसमेत दिँदैनथें । घरबाट बाहिर निस्कन रोक लगाएका उनले मोबाइलसमेत खोसेर राख्ने गरेका थिए ।


२०८० सालको तीजमा माइत जान लिन आएका भाइलाई बालेश्वरले मनपरी गाली गरेको र ज्यान मार्ने धम्कीसमेत दिएको नम्रताको भनाइ छ । त्यसैगरी, बाटोमा हिँडिरहेको बेला अश्लील गाली गर्दै निर्घात कुटपिट गरेको पनि उनले सुनाइन् । श्रीमानको यातना र ज्यादती सहन नसकेपछि नम्रताले २०८० असार ५ गते अंश र सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी थिइन् ।
त्यसपछि ‘मुद्दा फिर्ता नलिए ज्यान मार्ने धम्की दिएको’ नम्रताको भनाइ छ । यता, बालेश्वर पनि नम्रताविरुद्ध अदालत पुगेका छन् । श्रीमतीको नाजायज सम्बन्धबाट जेठी छोरी जन्मिएको र झुक्याएर जन्मदर्ता गराएको भन्दै उनले जालसाजीको मुद्दा हालेका हुन् ।
नम्रताले पुनः अर्को दुई वटा मुद्दा दायर गरेकी छिन् । उनका अनुसार बालेश्वरले जेठी छोरीको जन्मदर्ता बनाइदिईसकेका छन् । बालेश्वर र नम्रताका तीन सन्तान छन् । अदालतले दुवैको मुद्दाको पेशी आज तोकेको छ ।
लामो समयदेखि माइती बस्दै आएकी नम्रताले बालेश्वरबाट बारम्बार धम्की आएपछि मोबाइल फोन प्रयोग गर्नसमेत छाडेकी छिन् । जन आस्था बाट