काठमाडौँ— इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार कतारस्थित अमेरिकी सैन्य अड्डाहरूमा गरिएको आक्रमण र कतारबीच कुनै सम्बन्ध नभएको बताएका छन्।
मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरानको कारबाही केवल 'आत्मरक्षाको कदम' भएको स्पष्ट पारे। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, "इरान छिमेकी देशहरूसँगको सम्बन्धमा आफ्नो असल छिमेकी नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध छ।"
उनले थप लेखेका छन्, "हामी प्रतिज्ञा गर्छौं कि अमेरिकी/इजरायली आपराधिक आक्रामकता र दुर्भावनापूर्ण नीतिका कारण इरान र यस क्षेत्रका भातृ देशहरूबीच फाटो ल्याउन दिने छैनौँ।"


कतारले भने सोमबार इरानद्वारा अमेरिकी सैन्य अड्डाहरूमा गरिएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघका महासचिवलाई पत्र लेखेको छ।
कतारको भनाइमा, इरानले अमेरिकाको दोहा एयरबेसमा १९ वटा क्षेप्यास्त्र प्रहार गरेकोमा तीमध्ये १८ वटालाई सफलतापूर्वक रोकिएको थियो। एउटा मात्र क्षेप्यास्त्र खसेको भए पनि यसले कुनै क्षति नगरेको कतारले स्पष्ट पारेको छ।