एजेन्सी—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवैले बराबरी रूपमा युद्ध रोक्न चाहेको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत पुनः एक पोस्ट गर्दै उनले लेखेका छन्, ‘इजरायल र इरान दुवैले बराबरी रूपमा युद्ध रोक्न चाहेका थिए । परमाणु सुविधाहरू र क्षमता पूर्ण रूपमा नष्ट गर्नु र त्यसपछि युद्ध रोक्नु मेरो ठुलो गौरव हो !’
यसअघि ट्रम्पले दुवै देश—इजरायल र इरानलाई आफूले घोषणा गरेको युद्धविराम उल्लङ्घन गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए। आफूले अघिल्लो रात घोषणा गरेको युद्धविराम उल्लङ्घन गरेपछि इजरायल र इरानमाथि आक्रोशित ट्रम्पले पत्रकारहरूका अगाडि मुख नै छाडे । उनले भनेका थिए, ‘हामीसँग मूलतः दुई देश छन् जो यति लामो समयदेखि यति कठोर रूपमा लडिरहेका छन् कि तिनीहरूलाई आफूहरूले के गर्दैछन् भन्ने नै थाहा छैन ।’


हेगमा नेटो शिखर सम्मेलनमा जानुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफू इजरायलसँग ‘खुसी नभएको’ बताए। उनले भने, ‘मलाई लाग्छ समयसीमा (युद्धविरामको सुरुवात) पछि एउटा रकेट प्रहार गरिएको थियो र अब इजरायलले त्यस्तो कारबाही गर्ने छैन। उनीहरू शान्त हुनुपर्छ।’
‘सम्झौता भएको यति चाँडै इजरायलले आक्रमण गरेको मलाई पटक्कै मन परेन। उनीहरूलाई आक्रमण गर्नु आवश्यक थिएन,’ उनले भने।
ट्रम्पले इजरायललाई इरानमाथि आक्रमण रोक्न पनि आग्रह गरे। ‘इजरायल, बम नखसाल। यदि तिमीले त्यसो गर्यौ भने, यो घोर उल्लङ्घन हुनेछ। आफ्ना पाइलटहरूलाई अहिले नै घर फिर्ता बोलाऊ,’ उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्टमा लेखे ।
यसअघि ट्रम्पले इरान र इजरायलबिच युद्धविरामको घोषणा गरेका थिए, जुन मंगलबारदेखि दुई देशबिच लागू भएको छ। इजरायली सेनाले इरानले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको दाबी गरेको छ, यद्यपि इरानले यी आरोपहरूलाई अस्वीकार गरेको छ।
इरानका राष्ट्रपति मसउद पेजेश्कियनले यदि इजरायलले पनि त्यसका सर्तहरूको पालना गरेमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको सम्मान गर्ने बताएका छन् । यो जानकारी सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सीले दिएको हो।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको फोन संवादमा राष्ट्रपति पेजेश्कियनले भने, ‘यदि इजरायलले युद्धविराम उल्लङ्घन गरेन भने, इरानले पनि त्यसको उल्लङ्घन गर्ने छैन।’
सत्ता परिवर्तनबारे ट्रम्पले के भने ?
ट्रम्पले इरानमा भएको सत्ता परिवर्तनबारे पनि प्रतिक्रिया दिएका छन्। नेटो शिखर सम्मेलनमा जाँदै गर्दा एयरफोर्स वान विमानमा पत्रकारहरूले उनलाई प्रश्न गरेका थिए, ‘के तपाईं इरानमा सत्ता परिवर्तन हेर्न चाहनुहुन्छ?
त्यसपछि उनले भने, ‘होइन, म त्यो चाहन्न। म चाहन्छु कि सबै कुरा सकेसम्म चाँडो शान्त होस्। सत्ता परिवर्तन लागि अराजकता चाहिन्छ, र आदर्श रूपमा हामी त्यति धेरै अराजकता हेर्न चाहँदैनौँ ।’
इरान र इजरायलबिचको द्वन्द्व सुरु हुँदा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको बारेमा भनेका थिए, ‘हामी उनलाई हटाउने छैनौँ, कम्तीमा अहिले त होइन।’
अहिलेसम्म के-के भयो ?
• मंगलबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरान र इजरायलबिच युद्धविराम लागू भएको पोस्ट गरे।
• यो घोषणाको एक घण्टा पछि, इजरायलले अमेरिकी युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएको थियो, जबकि इरानले पहिले नै यदि इजरायलले आक्रमण रोक्छ भने हामी पनि त्यसै गर्नेछौँ भनेर भनेको थियो ।
• तर मंगलबार दिउँसो इजरायली सेनाले इरानले प्रहार गरेको क्षेप्यास्त्र पहिचान गरेको र उत्तरी इजरायलमाथि त्यसलाई रोकेको बतायो।
• इरानले कुनै पनि क्षेप्यास्त्र प्रहार गरेको अस्वीकार गर्यो, तर आईडीएफले इजरायलले ‘बलियो प्रतिक्रिया’ दिने बताएको छ।
• युद्धविराम सुरु हुनुभन्दा अघि रातभर दुवै पक्षबिच भारी आक्रमण भएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले इजरायलले प्रहार गरेको क्षेप्यास्त्रले राजधानी र अन्य सहरहरूलाई लक्षित गरेको र एक आणविक वैज्ञानिक सहित कम्तीमा नौ जनाको मृत्यु भएको बताएको छ।
• यता, इजरायली सहर बेरशेबामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।