काठमाडौँ — गायिका समीक्षा अधिकारीले नेकपा (एमाले) का नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा स्ट्याटस लेखेको आरोप लगाएकी छिन्। शनिबार फेसबुकमा पोस्ट गर्दै उनले बस्नेतको लेखाइले आफूलाई गहिरो मानसिक तनाव दिएको बताएकी छिन्।

गायिका अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको समर्थनात्मक पोस्टले आफूलाई केही मात्रामा हौसला र राहत दिएको उल्लेख गरिन्। तर, प्रधानमन्त्रीकै विश्वास पात्र महेश बस्नेतले लेखेको स्ट्याटसले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको बताउँदै उनले गम्भीर आपत्ति जनाइन्।

उनले लेखेकी छिन्:"सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।"

गायिकाले जनताको अदालतभन्दा ठूलो अरू केही नभएको बताउँदै आफ्नो इमान्दारितामा विश्वास रहेको उल्लेख गरिन्। उनले जीवनमा जानाजान हारेर कसैलाई जिताएको कुरा जनतालाई थाहा रहेको र आफ्नो विषयमा धेरै नबोल्न बस्नेतलाई चेतावनी दिइन्।

बस्नेतलाई लक्षित गर्दै समीक्षा अधिकारीले प्रश्न गरेकी छिन्: "बस्नेतज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो?"

महेश बस्नेतले शुक्रबार आफ्नो व्यक्तिगत प्रकरणमा फेसबुकमा लेख्ने क्रममा समीक्षा अधिकारीको प्रसङ्ग जोडेको कारण विवाद उत्पन्न भएको हो। अधिकारीले आफ्नो चरित्र हत्या हुने कुरा सह्य नहुने बताउँदै जनतासामु आफ्नो पक्ष स्पष्ट गरेकी छिन्।

गायिका अधिकारीको स्ट्याटसको पूर्ण पाठ:

Capture