विराटनगर—विराटनगर महानगरपालिका–७ निवासी ३२ वर्षीय सौरभ कुमार वियानीलाई १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको आरोपमा कारागार चलान गरिएको छ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपाल शाक्यका अनुसार, वियानीलाई सोमबार पक्राउ गरी थुनामा पठाइएको हो।
वियानीले विराटनगरको भट्टाचोकस्थित ‘न्यू सौरभ ट्रेडिङ’ र ‘बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ नामका चारवटा सटरमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए।
लामो समयदेखि गरिएको अनुसन्धानपछि, वियानीले आफ्ना फर्महरूको नामबाट १ अर्ब ३१ करोड ६४ लाख १८ हजार ५६४ रुपैयाँ बराबरको भ्याट छली गरेको पुष्टि भएको शाक्यले जानकारी दिए।
भ्याट छली प्रमाणित भएपछि आन्तरिक राजस्व कार्यालयले सोही रकम बराबरको धरौटी बुझाउन आदेश दिएको थियो। तर वियानीले धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो।
कर अधिकृत भवानी प्रसाद दाहालले हस्ताक्षर गरेको थुनुवा पूर्जीमार्फत वियानीलाई कारागार चलान गर्न निर्देशन दिइएको हो।
प्रमुख कर अधिकृत शाक्यका अनुसार, वियानीमाथि अनुसन्धान जारी राख्न आन्तरिक राजस्व विभागका महानिर्देशकको स्वीकृति लिएपछि उनलाई थुनामा पठाइएको हो।
कार्यालयले दिएको जानकारीअनुसार, धरौटी स्वरूप नगद वा जमानत बुझाउन आदेश दिइएको भए पनि वियानीले तोकिएको रकम बुझाउन नसकेकाले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३(घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि मोरङ कारागारमा राख्न पत्राचार गरिएको हो।



















