काठमाडौँ— देशभर जारी वर्षासँगै आज शनिबार राति पनि विभिन्न स्थानमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै कोसी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने जनाइएको छ।

रातिको समयमा कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा, र बाँकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

मौसमविद्का अनुसार: १मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो। 

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ। त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ। यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण सतर्क रहन र आवश्यक सतर्कता अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।