काठमाडौं — लगातारको भीषण वर्षापछि आएको बाढीले नेपाल–चीन व्यापारको मुख्य नाका मितेरी पुल पूर्णरूपमा बगाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरेका छन्।

मितेरी पुल बगिएपछि रसुवा हुँदै चीन जाने सडक मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

पौडेलका अनुसार रसुवागढी भन्सारको ड्राइपोटमा रहेका १०० देखि १५० गाडीहरूमध्ये अधिकांश गाडी बाढीले बगाएको प्रारम्भिक जानकारी आएको छ।

उनले ड्राइपोट क्षेत्रमा काम गरिरहेका केही चालक (ड्राइभर) र मजदुरहरू पनि बाढीले बगाएको हुन सक्ने जनाए। यद्यपि, मानव क्षतिको आधिकारिक पुष्टि भने अहिलेसम्म भइसकेको छैन।

"समग्रमा ठूलो क्षति भएको देखिन्छ," प्रमुख जिल्ला अधिकारी पौडेलले भने, "घटनास्थलमा सुरक्षा टोली परिचालन गरिएको छ र क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको छ।"

स्थानीय प्रशासन, सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा खटिइसकेको छ भने सम्भावित बेपत्ता व्यक्तिको खोजी कार्य पनि अघि बढाइएको बताइएको छ।

बाढीले क्षति पुर्‍याएको क्षेत्रका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै आम नागरिक र व्यापारीहरूमा गहिरो चिन्ता देखिएको छ।