काठमाडौं— नेपालमा बाढी र मनसुनजन्य प्रकोप बढिरहेका बेला सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाली प्रयोगकर्तालाई लक्षित गरी नयाँ सर्च गाइड सुरु गरेको छ। बिहीबार सार्वजनिक गरिएको यो फिचरले बाढीबारे खोजी गर्ने प्रयोगकर्तालाई विश्वसनीय, तथ्यपरक र ताजा जानकारीसम्म सजिलो पहुँच दिन सहयोग गर्ने टिकटकले जनाएको छ।
प्राकृतिक प्रकोपसम्बन्धी गलत जानकारीको प्रवाह नियन्त्रण र प्रमाणित सूचना प्रवाहलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो गाइड ल्याइएको हो। अब प्रयोगकर्ताले टिकटकमा बाढीसम्बन्धी सर्च गर्दा विशेष ब्यानर देख्नेछन्, जसले सरकारी तथा विश्वसनीय स्रोत मार्फत जानकारी लिने संकेत दिनेछ।
नयाँ सर्च गाइडले प्रयोगकर्तालाई नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल (BIPAD), टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस, साथै ट्र्याजिक इभेन्ट सपोर्ट गाइड मा सिधा लिंकमार्फत पुर्याउनेछ। गाइडमा विपद्बाट प्रभावित व्यक्तिलाई मनोवैज्ञानिक तथा व्यावहारिक सहयोग कसरी पाउने भन्ने जानकारी पनि समावेश गरिएको छ।
टिकटक दक्षिण एसियाका लागि पब्लिक पोलिसी तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनले भने, “संकटको बेला समयमै सही जानकारीको पहुँच अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौं। हामीले आपतकालीन निकायहरूसँग सहकार्य गरेर प्रयोगकर्तालाई सुरक्षित रहन र सचेत निर्णय लिन सघाउन चाहन्छौं।”
टिकटकका अनुसार यो सुरुवात डिजिटल सुरक्षा, तथ्यमा आधारित जानकारीको प्रवाह र जिम्मेवार सामग्री प्रयोग प्रवर्द्धन गर्ने प्रयासको हिस्सा हो। प्लेटफर्मले प्रयोगकर्तालाई भावनात्मक रूपमा संवेदनशील क्षणहरूमा सही जानकारी लिन, आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्न र जिम्मेवार ढंगले सामग्री शेयर गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ।
थप जानकारीका लागि प्रयोगकर्ताले टिकटकको सेफ्टी सेन्टरको प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।




















