काठमाडौं— सङ्घीय संसद् भवनमाथि ड्रोन खसालेको आरोपमा एक कलेजका प्राध्यापकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापक विजयबाबु रेग्मी र सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन्।
प्रवक्ता बोहराका अनुसार, “सङ्घीय संसद् भवन क्षेत्र उडान निषेधित क्षेत्र (नो–फ्लाइ जोन) हो। उक्त क्षेत्रको दक्षिणतर्फको छतमा असार २४ गते बिहान ९ः३० बजे ड्रोन फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा ड्रोन टेकस्पायर कलेजकै लोकेशनबाट उडाइएको देखिएको छ।”
पक्राउ परेकाहरूको तर्फबाट भने उक्त ड्रोन शैक्षिक प्रयोगको लागि बनाइएको बताइएको छ। कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्रहरीलाई जानकारी गराउँदै भनेका छन् कि असार १३ गते प्राध्यापक विजयबाबु रेग्मी र विद्यार्थीहरूलाई ड्रोन निर्माण तथा परीक्षणका लागि सेमेस्टर कार्यको रूपमा जिम्मेवारी दिइएको हो।
तर, उडान निषेधित क्षेत्रमा ड्रोन उडाइनु सुरक्षा सरोकार र कानुनी हिसाबले गम्भीर विषय भएको भन्दै प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित गराइएको छ। प्रहरीले अहिले उनीहरूमाथि विद्यमान उडानसम्बन्धी कानुन, सार्वजनिक सुरक्षा र नो–फ्लाइ जोन उल्लङ्घन सम्बन्धी प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।




















