पटना —भारतक बिहारराज्य स्थित पटना विमानस्थललाई बमबाट उडाउने धम्की दिइएपछि विमानस्थल परिसरमा त्रास मच्चिएको छ। यो धम्की विमानस्थलका निर्देशकलाई इमेलमार्फत प्राप्त भएको हो। घटनापछि विमानस्थलमा तिव्र सुरक्षा सतर्कता अपनाइयो।
प्राप्त जानकारीअनुसार, इमेलमा विमानस्थलमा बम राखिएको उल्लेख गरिएको थियो। धम्की गम्भीर देखिएपछि सुरक्षाकर्मी, बम डिस्पोजल टोली र प्रहरी तुरुन्तै सक्रिय बनेका थिए। सम्पूर्ण विमानस्थल क्षेत्रको सघन जाँच गरिएको थियो। तर प्रारम्भिक अनुसन्धानमा कुनै शंकास्पद वस्तु फेला परेन।
यो पछिल्लो १० दिनभित्र विमानस्थलमा प्राप्त दोस्रो धम्की हो। लगातार धम्कीहरू आउनुले सुरक्षा निकायमा तनाव बढाएको छ भने यात्रुहरूमा समेत त्रासको वातावरण सिर्जना भएको छ।
बम डिस्पोजल टोलीका एक अधिकारीले भने, “धम्कीपछि सम्पूर्ण परिसरको खोजी गरियो, तर हालसम्म केही संदिग्ध वस्तु फेला परेको छैन। तथापि, सुरक्षा व्यवस्था थप कडा पारिएको छ।”
स्थानीय प्रशासनले भनेको छ कि घटनाको गम्भीरताका साथ अनुसन्धान अघि बढाइएको छ, र इमेल पठाउनेको पहिचानका लागि साइबर शाखालाई जिम्मा दिइएको छ।
स्रोत: न्यूज 18



















