सुनसरी—सुनसरीको हरिनगरा नगरपालिका–६, घुस्कीमा घरेलु विवादले ज्यान लिएको छ। आफ्नै भिनाजुले सालीमाथि गोली प्रहार गर्दा १७ वर्षीया किशोरी अर्चना खातुनको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करिब २ बजे घरेलु झगडाका क्रममा भारतको पत्राहा निवासी २५ वर्षीय आजाज मियाले साली अर्चनामाथि गोली प्रहार गरेका थिए।

गोली लागेपछि अर्चनाको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी  उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार गोली प्रहार गरे लगत्तै आरोपी आजाज मिया फरार भएका छन्। नेपाल–भारत सीमासँग सटिएको घुस्की क्षेत्रमा भएको घटनाको जानकारी प्रहरीलाई करिब दुई घण्टापछि मात्र प्राप्त भएको थियो।

घटनापछि सुनसरी प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

हत्याको पछाडिको कारण अझै स्पष्ट हुन नसके पनि गोली प्रहार गर्ने अजाज विगतमा आपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनापछि भारतको सुपौल र सुनसरीको हरिनगरा नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अजाजको विगतमा विभिन्न आपराधिक समूहसँग सम्बन्ध रहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको छ। साथै, घटना सम्बन्धमा संलग्न हुनसक्ने व्यक्तिहरूको पहिचान र पक्राउको प्रयासमा सुरक्षा निकायहरू सीमा क्षेत्रमा सक्रिय छन्।