काठमाडौं — नेकपा (एमाले) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच चर्काचर्की भएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको पार्टी विधान संशोधनको मस्यौदामाथि छलफलको क्रममा पोखरेलले ओलीको नेतृत्व शैलीमाथि कडा आलोचना गर्दै नेतृत्व हस्तान्तरणको स्पष्ट माग राखेका हुन्।

पोखरेलले भने, "तपाई र म बीच कुनै विचारधाराको समस्या छैन, तर तपाईंको कार्यशैलीमा समस्या छ। कार्यकर्ता र जनतासँग व्यवहार गर्ने शैली ठीक भएन, पार्टीभित्र मूल्यांकन गर्ने विधि भएन, त्यसैले अब तपाईले नेतृत्व छोड्नुपर्छ।"

पोखरेलले पार्टीभित्र आत्मालोचना र वैचारिक बहसलाई झगडाको रूपमा चित्रण गर्ने प्रवृत्तिको आलोचना गर्दै पार्टीमा लोकतान्त्रिक अभ्यास सुदृढ गर्न नेतृत्व परिवर्तन अपरिहार्य भएको तर्क गरे। उनले ओलीको नेतृत्वमा लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनिरहेको आरोप पनि लगाए।

बैठकमा पौडेलले प्रस्तुत गरेको मस्यौदामा वरिष्ठ उपाध्यक्ष पद हटाउने, पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउने, साथै अध्यक्ष र अन्य पदमा उमेर सीमा ७० वर्ष र कार्यकाल दुई अवधिसम्म सीमित गर्ने प्रस्ताव गरिएको थियो। यही उमेर र कार्यकाल सीमा सम्बन्धी प्रस्तावमा छलफल भइरहँदा ओली र पोखरेलबीच भनाभन भएको थियो।

पोखरेल विधान संशोधन सम्बन्धी धारणा राख्दै गर्दा अध्यक्ष ओलीले आपत्ति जनाउँदै, “तपाई कर्ण थापाको कुरा बोकेर आउने हो?” भनेपछि पोखरेल झोक्किएका थिए। उनले जवाफ दिए, “म आफ्नो कुरा राख्दैछु, मलाई किन कर्ण थापासँग जोड्नुहुन्छ?”

पोखरेलका भनाइपछि ओली भने चुप लागेका थिए। बैठकको स्रोतका अनुसार, छलफलमा नेताहरूबीच सहमति जुट्न नसके पनि अन्ततः बहुमतका आधारमा प्रस्ताव पारित गरिएको थियो।

यस घटनाले एमालेभित्रको आन्तरिक शक्ति संघर्ष र नेतृत्वप्रति असन्तुष्टि झनै सतहमा आएको स्पष्ट देखिएको छ।