काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न जाँदा अन्तिम इच्छा सोधेर विवादमा परेका नेपाल प्रहरीका डिएसपी दीपक खड्का एसपी (प्रहरी उपरीक्षक) मा बढुवाका लागि सिफारिस भएका छन्।
गएको चैत २२ गते लामिछानेलाई पक्राउ गर्न पुगेका खड्काले "तपाईंको अन्तिम इच्छा के छ?" भनी सोधेको भिडियो सार्वजनिक भएपछि प्रहरी संगठनभित्र मात्र होइन, सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमै आलोचना सुरु भएको थियो।
उक्त घटनालाई लिएर प्रहरी संगठनको आचरण र मर्यादामाथि प्रश्न उठेको थियो। खड्कामाथि कारबाहीको मागसमेत भएको थियो।
तर, विवादका बाबजुद गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले उनलाई एसपीमा बढुवा सिफारिस गरेको छ। खड्का यसअघि काठमाडौंको सोह्रखुट्टे प्रहरी वृत्तमा कार्यरत रहँदा घुसकाण्डमा समेत मुछिएका थिए, जसले उनको विवादास्पद छवि थप बलियो बनाएको थियो।
गृहमन्त्रीका अनुपस्थितिमा मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो। गृहसचिव गोकर्णमणि दुवाडीको भारत भ्रमण तय भएकाले एसएसपी, एसपी र डिएसपी स्तरका रिक्त पदहरूमा एकै पटक बढुवा प्रक्रिया अघि बढाइएको छ।
बढुवामा समावेश भएका अन्य अधिकृतहरूको विवरण भने सार्वजनिक गरिएको छैन। तर, प्रहरी संगठनभित्र विवादास्पद अधिकृतलाई पुरस्कृत गरिएजस्तो देखिएको भन्दै आलोचना बढ्न थालेको छ।




















