काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभामा विशेष सम्बोधन गर्ने भएका छन्।

सांसदहरूसँगको नियमित प्रश्नोत्तर सत्र अघि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

प्रधानमन्त्रीको सम्बोधनमा सरकारका पछिल्ला काम–कारबाही र समसामयिक राजनीतिक घटनाक्रम समेटिनेछ।

त्यसक्रममा, उनले केही दिनअघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा उठाएका आरोपहरूको पनि प्रत्यक्ष जवाफ दिने बताइएको छ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे, संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ।

प्रधानमन्त्रीको विशेष सम्बोधनपछि संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची समेत रहेको छ।