काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विशेष पत्रकार सम्मेलन गर्ने भएकी छिन्। पत्रकार सम्मेलन काठमाडौंको बानेश्वरस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे हुने जनाइएको छ।
राजनीतिक रूपमा सक्रिय हुने घोषणा गरिसकेकी भण्डारीले नेकपा (एमाले) बाट सदस्यता नवीकरण नपाएको पृष्ठभूमिमा हुने यो सम्मेलनलाई राजनीतिक सन्देश बोकेको कार्यक्रमका रूपमा हेरिएको छ।
एमालेको केन्द्रीय कमिटी बैठकले उनलाई पार्टी सदस्यता दिन इन्कार गरेपछि भण्डारी मौन थिइन्। तर अब उनी सार्वजनिक रूपमा अपेक्षित धारणा राख्ने संकेत देखिएको छ।
पार्टीभित्रको शक्ति संघर्ष र नेतृत्वको बहसबीच पूर्वराष्ट्रपतिले गर्ने भनिएको पत्रकार सम्मेलनले एमाले तथा राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने आँकलन गरिएको छ।




















