काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा परेको मधेश प्रदेश जाँदै छन् । उनी महोत्तरी र बारा जिल्लामा कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

हिजो व्यस्तताले बाहिर ननिस्किएको गर्दै आज मधेश जान लागेको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।  , ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ।’  प्रधानमन्त्रीले लेखेका छन् ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौं र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।’ 

मधेशमा लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले किसानहरु समस्यामा परेका छन् ।  नेपालको अन्नभण्डार भनिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि किसानहरुले धान रोप्न पाएका छैनन् ।

धान रोपिएका खेत पनि पानी अभावले चिरा परेका छन् । इनार र ट्युबेल सुकेका छन् । अन्न भण्डार मानिने मधेशमा खडेरीले गर्दा धान उत्पादन घट्ने चिन्ता छ ।

त्यसैले यही साउन ७ गते बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोष्णा गरेको छ ।