इनरुवा— अत्यधिक गर्मीका कारण सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा सर्वसाधारणको भीड बढ्न थालेको छ।

सप्तकोशी नदीको पानी कटान क्षेत्र हुँदै ‘सिपेज’ भएर आउने हुँदा पानी चिसो हुने गर्छ। यही कारणले नुहाउनकै लागि स्थानीयसहित आसपासका विभिन्न ठाउँबाट मानिसहरू यहाँ आउन थालेका हुन्।

"दैनिक सयभन्दा बढी मानिस नुहाउन आउन थालेका छन्," स्थानीयवासी रूपेश झाले बताए। अर्का स्थानीय अरुण मण्डलका अनुसार सवारीसाधनका चालक र यात्रुहरू समेत यहाँ आएर नुहाउने, विश्राम गर्ने गरेका छन्।

चर्को घाम र असह्य गर्मीबीच कोशी कटानको चिसो पानीले राहत दिने भएकाले यो ठाउँ गर्मी महिनामा विशेष आकर्षणको केन्द्र बन्दै गएको हो।

स्थानीयवासीहरूले यस क्षेत्रलाई व्यवस्थित गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावना औँल्याउँदै ठोस योजना आवश्यक भएको बताएका छन्। उनीहरूका अनुसार आधारभूत संरचना निर्माण गरिएमा कोशी कटान क्षेत्र पूर्वी नेपालकै एक आकर्षक ‘समर डेस्टिनेस’ बन्न सक्ने क्षमता राख्छ।