काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरूको विगतप्रति कटाक्ष गर्दै भिजिट भिसाको विषयलाई लिएर संसदमा भइरहेको विरोधप्रति व्यंग्य गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले रास्वपाले दुई महिनादेखि सदन अवरुद्ध गरी भिजिट भिसा दुरुपयोगको छानबिन माग गरिरहे पनि यस्ता अभ्यास नेपालमा पहिल्यै भइसकेको दाबी गरे।
उनले भने, “भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ। त्यो गर्नुपर्दैन। हामीले एउटा अभ्यास गरिसक्या छौँ। भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने, दुई–चार वटा काण्ड मच्याउने, पार्टी खोल्ने, त्यसपछि गृह, अन्य मन्त्री हुँदै उपप्रधानमन्त्री बन्नेसम्मको अभ्यास गरिसकेका छौँ।”
उनले थपे, “किन चित्त दुखाउनुहुन्छ र? भोलि भिजिट भिसामा जानेहरूले पनि त्यही अभ्यास दोहोर्याउलान् नि। चिन्ता किन गर्नुहुन्छ?”
घिमिरेले यो टिप्पणी गर्दा सिधै नाम नलिए पनि उनको अभिव्यक्ति रास्वपाका शीर्ष नेताहरू—विशेषतः सभापति लामिछाने र सांसद सुमन श्रेष्ठप्रति लक्षित देखिएको थियो।
रास्वपा सांसदहरूले पछिल्लो दुई महिनादेखि भिजिट भिसाको दुरुपयोगबारे छानबिन गर्न माग गर्दै सदनमा निरन्तर विरोध जनाइरहेका छन्। उक्त विवादले सरकार सञ्चालनमा प्रभाव पारिरहेको छ।
घिमिरेले भिजिट भिसामा विदेश गइ उतैको नागरिकता लिने र विवाह गर्ने कार्यलाई अन्तर्राष्ट्रिय कानुनले पनि स्वीकार नगर्ने बताए। उनले भने, “भिजिट भिसामा गएर उतैको नागरिकता लिनु र घरजम गर्नु गलत कार्य हो। अन्तर्राष्ट्रिय कानुनले पनि यसलाई समर्थन गर्दैन।”
उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि संसदमा केहीबेर गहमा चर्चा भएको थियो। रास्वपाले यसप्रति कडा प्रतिक्रिया दिने तयारी गरिरहेको स्रोतहरूले जनाएका छन्।




















