काठमाडौं — विभिन्न कारणले इरानको जेलमा थुनामा परेका पाँच नेपाली नागरिक स्वदेश फर्किएका छन्।
तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को सहयोगमा उनीहरूलाई नेपाल फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि इरानी अदालतले ती नेपाली नागरिकलाई थुनामुक्त गर्ने आदेश दिएको थियो।
यसअघि पनि भारत सरकारलाई अनुरोध गरी इरानमा रहेका नेपालीको उद्धारका लागि भारतीय विमान सेवाको प्रयोग गरिएको थियो। ती प्रयासअन्तर्गत तीनवटा चरणमा गरी जम्मा नौ नेपाली नागरिकलाई स्वदेश फर्काइएको मन्त्रालयले जनाएको छ।
इजरायल र इरानबीच २०२५ जुन १३ देखि सुरु भएको द्वन्द्व २३ जुनमा युद्धविराममा टुंगिएपछि इरानमा शान्तिसुरक्षा स्थिति सहज बन्दै गएकाले नेपाली नागरिकलाई उद्धार गर्न सम्भव भएको मन्त्रालयको भनाइ छ।
परराष्ट्र मन्त्रालयले उक्त प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता देखाउने सबै निकाय र व्यक्तिलाई धन्यवाद समेत दिएको छ।




















