काठमाडौं—पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश र अध्यक्ष पदमा आकांक्षा देखिएपछि पार्टीले बाध्यात्मक रूपमा निर्णय लिनुपरेको नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारेका छन्।
बालुवाटारमा कर्णालीबाट आएका केन्द्रीय नेताहरूसँगको छलफलमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीप्रति लक्षित गर्दै भने, “देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै अध्यक्ष पदमा आँखा गाडिएकै कारण केन्द्रीय कमिटीले निर्णय गर्नुपर्यो।”
ओलीले स्पष्ट रूपमा भने, “पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुने निर्णय लिन्छिन् भन्ने कुरा हामीले कल्पना पनि गरेका थिएनौं। पार्टीको महत्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिमले सदस्यता विषयमा बखेडा गर्नु आफैंमा उहाँको कद घटाउने काम भयो।”
ओलीले पूर्वराष्ट्रपतिलाई गणतन्त्रको प्रतीकका रूपमा रहनुपर्ने व्यक्ति बताउँदै, अध्यक्ष पदप्रति देखिएको आकांक्षाले भण्डारीले आफ्नो राजनीतिक र नैतिक उचाइ गुमाएको आरोप लगाए। “संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि सँगै आएको पदको गरिमा त्यागेर फेरि पार्टीको आन्तरिक पदमा लड्ने प्रयास गरिनु दुःखद हो,” ओलीको भनाइ थियो।
ओलीले पार्टीभित्रको हालको तनावप्रति संकेत गर्दै सबै नेताहरूलाई “हावाको झोक्काको पछि नलाग्न” निर्देशन दिएका छन्।
उनले भने, “अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो, सामान्य रूपमा समाधान हुन्छ। तपाईंहरू आफ्नो जिम्मेवारीमा फर्किनुहोस्।”
बैठकमा ओलीले पार्टीको ध्यान आगामी २०८४ को निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए। “पार्टीलाई जनताको पक्षमा उभ्याउने र राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने मेरो नेतृत्वमा लगातार प्रयास भएको हो, त्यसैले अहिले चौतर्फी घेराबन्दी गरिएको छ,” उनले स्पष्ट पारे।




















