काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको मधेस भ्रमणलाई लक्षित गर्दै चर्को आलोचना गरेकी छन्। सोमबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले, "खडेरी पर्यो भनेर हेलिकोप्टरमा हेर्न जाँदैमा मधेसमा पानी आउँदैन," भन्दै सरकारको प्रतीकात्मक अनुगमन शैलीको कटाक्ष गरेकी हुन्।
प्रधानमन्त्री ओली साउन ७ गते खडेरीको समस्या अवलोकन गर्न मधेस पुगेका थिए। तर, श्रेष्ठले यस्ता भ्रमणहरू केवल देखावटी भएको आरोप लगाउँदै मधेसमा भइरहेका वास्तविक समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरिन्।
“चुरेको कुरा जोडिन्छ, चुनावदेखि चुनावको मात्रै हेरेर समस्याको समाधान हुँदैन,” उनले भनिन्। उनले मधेसमा लामो समयदेखि रहेको पानीको अभाव, खडेरी र जलस्रोत व्यवस्थापनमा सरकार गम्भीर नभएको संकेत गरिन्।
यसैबीच, श्रेष्ठले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्ताव राख्दै सरकारलाई सार्वजनिक जग्गामा आँखा नलगाउन चेतावनी दिइन्। साथै, वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित केही दफा खारेज गर्नुपर्ने आवश्यकता औंल्याइन्।




















