काठमाडौं— भारतीय नर्स निमिषा प्रियालाई यमनमा सुनाइएको मृत्युदण्ड पूर्ण रूपमा खारेज गरिएको छ। उक्त जानकारी भारतका ग्राण्ड मुफ्ती कंथापुरम एपी अबूबकर मुस्लियारको कार्यालयले सार्वजनिक गरेको हो।
मुस्लियारको कार्यालयका अनुसार, यमनका धार्मिक तथा न्यायिक निकायहरूसँग लामो समयदेखि जारी संवादपछि मृत्युदण्ड खारेज गर्ने निर्णय गरिएको हो। ग्राण्ड मुफ्तीको सक्रिय पहल र कूटनीतिक संवादमार्फत सम्भव भएको यो निर्णय हत्या अभियोगमा दोषी ठहरिएकी प्रियाका लागि ठूलो राहतको खबर हो।
ब्लड मनी (रक्तपुँजी) को रूपमा १ मिलियन अमेरिकी डलर अर्थात् करिब ८.३ करोड दिने निर्णय गरिएको हो।
यद्यपि हालसम्म भारतीय विदेश मन्त्रालय वा यमन सरकारबाट यस विषयमा औपचारिक पुष्टि गरिएको छैन, ग्राण्ड मुफ्ती कार्यालयको दावीअनुसार न्यायिक तहमा भएको सहमतिले मृत्युदण्ड रद्द गरिएको जनाइएको छ।
सन् २०१७ मा यमनमा कार्यरत रहँदा, त्यहाँका एक नागरिकको मृत्यु प्रकरणमा निमिषा प्रिया दोषी ठहरिएकी थिइन्। त्यसपछि उनलाई मृत्युदण्ड सुनाइएको थियो। यता भारतमा विभिन्न मानवअधिकार संघसंस्थाले निरन्तर दबाब दिँदै उनको जीवनरक्षा प्रयास जारी राखेका थिए।



















