पोखरा —सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट आफ्नै गाउँ छाडेर पोखरा आइपुगेका उर्मिला हायूको परिवारलाई प्रहरीले पोखरामा फेला पारेको छ।

उनीहरूका अनुसार, लगातार घरमा बच्चाहरू बिरामी भइरहने, विभिन्न समस्या देखा पर्ने र धामीझाँक्रीले त्यहाँ नबस्न सुझाव दिएको कारणले गर्दा गाउँ छाड्न बाध्य भएको प्रारम्भिक बयान दिएका छन्।

पोखरा महानगरपालिका–३० गगनगौडामा सुमन पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसिरहेका अवस्थामा १६ जना सदस्यसहितको परिवारलाई सिसुवा इलाका प्रहरी कार्यालयले सोमबार बेलुका फेला पारेको हो।

इलाका प्रहरी प्रमुख श्रवण विकका अनुसार, उनीहरू हाल आफन्त र जनप्रतिनिधिको रोहबरमा त्यही कोठामा नै छन् र सामान्य सोधपुछपछि राखिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।