विराटचोक, मोरङ — थाइल्यान्डको फत्तायामा सम्पन्न ‘विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड आइभिपी च्याम्पियनसिप २०२५’ मा मोरङकी दीपा विष्टले लगातार चौथोपटक विश्व च्याम्पियन बन्ने कीर्तिमान कायम गरेकी छिन्।
साउन ३ गते सम्पन्न प्रतियोगितामा ३० वर्षीया विष्टले ९० केजी तौल उठाएर १८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि रक्षा गरिन्। यसअघि उनले ९५ केजी तौल उठाएर विश्व कीर्तिमान बनाएकी थिइन्।
शारीरिक चोटका बाबजुद उत्कृष्ट प्रदर्शन गरेकी दीपाले यसअघि दुईपटक ‘वर्ल्ड स्ट्रोङ्गेस्ट वुमन’ को उपाधि जितेकी थिइन्।
२०२१ देखि स्ट्रेन्थ लिफ्टिङमा सक्रिय रहेकी उनले २०७९ मा किर्गिस्तान, २०८० मा भारत, २०८१ मा पुनः किर्गिस्तान र २०८२ मा थाइल्यान्डमा आयोजित प्रतियोगितामा लगातार उपाधि जितेकी हुन्।
अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेकी विष्टको कप्तानीमा सहभागी नेपाली टोलीका १४ खेलाडीमध्ये ७ जनाले स्वर्ण, ५ जनाले रजत र २ जनाले कांस्य पदक जिते।
महिलातर्फ काठमाडौंकी अमृता खड्काले र पुरुषतर्फ नेपालगन्जका करण वाग्लेले विश्व जुनियर उपाधिमा स्वर्ण जिते।




















