काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक र पूर्वसांसद रेशम चौधरीले पत्नी तथा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलाई पदबाट हटाएका छन्।
रेशम पक्षको बुधबार साँझ बसेको बैठकले रन्जितालाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको पार्टीका महासचिव ठाकुरसिंह थारुले जानकारी दिएका हुन्।
राजनीतिक मतभेदले सुरु भएको रेशम–रन्जिता विवाद अहिले पारिवारिक टकराव हुँदै राजनीतिक सम्बन्धविच्छेदको चरणमा पुगेको देखिएको छ।
नाउपाको प्रतिनिधिसभामा चार सिट छन् भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशसभामा पनि उपस्थिति छ। तर अध्यक्षीय कलह गहिरिँदै गएपछि पार्टी विभाजनको संघारमा पुगेको आकलन गरिएको छ।
रन्जिताले केही दिनअघि आफू कार्यवाहक तोकेर विश्राममा जाने बताएकी थिइन्, तर त्यसको केही दिनमै अध्यक्ष पदबाट हटाइएको घोषणा आएको हो।




















