काठमाडौं — लगातारको वर्षासँगै गएको पहिरोका कारण अरनिको राजमार्ग र बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित दश किलोमा आज बिहान करिब ५ बजे वर्षापछि लेदो माटोसहितको पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
सडक अवरुद्ध भएपछि दुईतर्फी यातायात ठप्प बनेको छ भने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
त्यसैगरी, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित बेनी–जोमसोम सडकखण्डमा पनि आज बिहान पहिरो खस्दा आवागमन पूर्णरूपमा ठप्प भएको छ।
सडक माथिबाट खसेको भारी मात्रामा लेदो माटो र ढुंगामाटोले सडक ढाकिएको र त्यसले सवारीसाधन सञ्चालनमा अवरोध पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रभावित सडकखण्डमा डोजरमार्फत पहिरो हटाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ। यद्यपि निरन्तर वर्षाले काममा कठिनाइ भइरहेको जनाइएको छ।




















