काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनका स्वकीय सचिव छत्र खडायतले पार्टीकै एक कार्यकर्ता माथि शारीरिक आक्रमण गरेको आरोप लागेको छ।

पाल्पाका कार्यकर्ता राजु गैरेमाथि खडायतले हेलमेटले प्रहार गरेको भन्दै उनी मंगलबार महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिन पुगेका छन्।

घटना मङ्गलबार साँझ धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा भएको हो। गैरे केही व्यक्तिसँग चिया खाएर बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका खडायतले हेलमेटले आक्रमण गरेको भिडियो प्रमाणसमेत सार्वजनिक भएको छ।

सीसीटीभी फुटेजमा खडायतले गैरेलाई काँधमा समातेर अलग लैजाँदै वादविवाद गर्ने, त्यसपछि कम्तीमा दुईपटक हेलमेटले प्रहार गरेको दृश्य देखिन्छ।

गैरेले अध्यक्ष लिङदेनमाथि नै ‘भौतिक कारबाहीका लागि निर्देशन दिएको’ आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्,

“अध्यक्षले कुटेर आउन भनेका रहेछन्, मलाई त यहीं मारेको भए नि हुने रहेछ।”

उनले आफूलाई न्याय नपाए पार्टी कार्यालयमा पासो लगाएर आत्महत्या गर्ने चेतावनी समेत दिएका छन्।

राप्रपाको पछिल्लो समयको आन्तरिक गुटबन्दीमा गैरे महामन्त्री धवलशम्शेर राणा समूह निकटका कार्यकर्ता हुन्। उनी प्रदेशसभा चुनावमा पार्टीबाट उम्मेदवारसमेत बनेका थिए। पार्टीको आन्तरिक असन्तुष्टि र निर्णयप्रति उनी सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गर्दै आएका छन्।

राप्रपा नेतृत्वले हालसम्म घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन। प्रहरीका अनुसार उजुरी परेकाले प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।