काठमाडौँ — नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ।
पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न व्यवस्थापकीय पक्षहरू हेर्ने गरी नेताहरूलाई जिम्मेवारी दिएको हो।
पार्टी केन्द्रीय कार्यालयका प्रमुख डा. भिष्म अधिकारीका अनुसार १०औं महाधिवेशनबाट निर्वाचित प्रतिनिधिमध्ये को–को अझै सक्रिय छन्, कति सदस्यको निधन भएको छ वा कति पार्टी परित्याग गरेका छन् भन्ने विवरण संकलनको जिम्मा संगठन विभागलाई दिइएको छ।
स्वास्थ्य व्यवस्थापनको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, स्वयंसेवक परिचालनको जिम्मा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, सचिवालय र खानपान व्यवस्थापनको जिम्मा कार्यालय सचिव डा. भिष्म अधिकारीलाई दिइएको छ।
त्यसैगरी, यातायात र मञ्च व्यवस्थापन केन्द्रीय सदस्य विनोद श्रेष्ठ, प्रचार–प्रसार प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, सांस्कृतिक कार्यक्रम (स्वागत नृत्यसहित) केन्द्रीय सदस्य हेमराज राईले हेर्ने छन्।
महाधिवेशनमा सहभागी हुने २ हजार २ सय ७९ जना प्रतिनिधिले आवासको व्यवस्था आफूले गर्नुपर्नेछ। व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिहरूको बसोबास सम्बन्धित जिल्ला वा प्रदेश सम्पर्क समन्वय कमिटीले मिलाउनेछ। त्यसको समन्वय सम्पर्क समन्वय विभागका इन्चार्ज लालबाबु पण्डितले गर्नेछन्।




















