काठमाडौँ — प्रधानमन्त्री कार्यालयको पछिल्लो लेखा विवरणले केपी शर्मा ओली प्रधानमन्त्री भएको एक वर्षको खर्च, पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालाभन्दा करिब दुई करोड रुपैयाँले कम भएको देखाएको छ।

प्रधानमन्त्री कार्यालयले तयार पारेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा दाहालको पालामा ६ करोड २१ लाख ३५ हजार रुपैयाँ खर्च भएको थियो। त्यसको तुलनामा २०८१/८२ मा ओलीको पालामा खर्च घटेर ४ करोड १४ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ। यो ३३.२७ प्रतिशतले खर्च घटेको हो।

पारिश्रमिक, इन्धन, सवारी मर्मतदेखि विविध शीर्षकसम्म दाहालको पालाभन्दा ओलीको पालामा खर्च घटेको देखिन्छ। दाहाल प्रधानमन्त्री हुँदा सचिवालयमा ९४ जना कर्मचारी थिए भने ओलीको पालामा त्यो संख्या घटेर १४ पुगेको थियो।

इन्धन शीर्षकमा पनि उल्लेख्य फरक देखिन्छ। दाहालको पालामा ७३ लाखभन्दा बढी खर्च भएकोमा ओलीको पालामा झन्डै १५ लाखमा झरेको छ। सवारी मर्मत खर्चमा पनि झन्डै ३.३ प्रतिशत कमी आएको छ।

८ शीर्षकमध्ये ६ वटामा खर्च घटेको भए पनि पोसाक र अनुगमन-मूल्यांकन शीर्षकमा भने ओलीको पालामा खर्च बढेको छ। पोसाक शीर्षकमा १०.४२ प्रतिशत र अनुगमन-मूल्यांकनमा ११ लाख रुपैयाँभन्दा बढी खर्च थपिएको हो।

२०७९ को निर्वाचनपछि पुस १० गते दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए भने २०८१ असार ३० पछि ओली प्रधानमन्त्री भएका हुन्। दुबै जनाको नेतृत्वमा एक-एक वर्षको खर्च तुलना गर्दा ओलीको कार्यकाल तुलनात्मक रूपमा मितव्ययी देखिएको छ।