काठमाडौँ — अब नेपाल प्रहरीको आधिकारिक वेबसाइट तथा उपडोमेनमार्फत प्रदान गरिँदै आएका अनलाइन सेवाहरू निःशुल्क रूपमा उपयोग गर्न सकिने भएका छन्। नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडका मोबाइल प्रयोगकर्ताका लागि यो सुविधा लागू गरिएको हो।
नेपाल प्रहरीले नागरिकको पहुँच, सहुलियत र सेवा प्रवाहलाई थप सहज बनाउन यस्तो व्यवस्था ल्याएको जनाएको छ।
यसबाट अब एनटीसी वा एनसेल प्रयोगकर्ताले मोबाइलमा रकम नहुँदा पनि प्रहरीका डिजिटल सेवा—जस्तै चरित्र प्रमाणपत्रका लागि आवेदन, गुनासो दर्ता, ट्राफिक जानकारी, हराएका वस्तु वा व्यक्ति सम्बन्धी सूचना, इ-फारम, इ-सिफारिस आदि सजिलै लिन सक्नेछन्।
प्रहरीका अनुसार यो व्यवस्था लागू भएपछि डिजिटल प्रविधिमा नागरिकको पहुँच अझ विस्तार हुनेछ। सार्वजनिक सेवा सहज, समावेशी र सर्वसुलभ बनाउने अभियानअन्तर्गत लिइएको यो कदमलाई प्रविधिमैत्री सुधारको रूपमा लिइएको छ।




















