काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी वरिष्ठ नेता झलनाथ खनाललाई कडा चेतावनी दिएका छन्। एमाले फुटाउनु गल्ती भएको भन्ने व्यक्तिहरूलाई नेकपा एसमा रहने नैतिक हैसियत नरहेको बताउँदै अध्यक्ष नेपालले खनाललाई “खुरुक्क पार्टी छाड्न” खुला चुनौती दिएका हुन्।
नेकपा एसको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले एमालेबाट पार्टी विभाजन गर्नु सही निर्णय भएको दोहोर्याए। उनले खनालको हालसालै आएको अभिव्यक्तिबारे लक्षित गर्दै भने, “फुट गल्ती हो भनेर बोल्नेहरू अझै भ्रममा छन्। यस्तो सोच लिएर समाजवादी पार्टीमा टिक्न सकिन्न।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले खनालप्रति अप्रत्यक्ष आक्रोश पोख्दै थपे, “यस्ता विचार राख्नेहरूका लागि ढोका खुल्ला छ। हिम्मत भए पार्टी छाडेर जानुस्।”
यसअघि झलनाथ खनालले सार्वजनिक रूपमा दिएको अन्तर्वार्तामा एमाले फुटाउनु केही हदसम्म गल्ती भएको बताएका थिए, जसले पार्टीभित्र नयाँ तरंग पैदा गरिदिएको छ। खनालको उक्त टिप्पणीलाई नेकपा एसका शीर्ष नेताहरूले पार्टी नीतिविपरीत ठहर गरेका छन्।
पार्टीको आगामी रणनीति र संगठन विस्तारबारे छलफल गर्न आह्वान गरिएको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालको यस्तो टिप्पणीसँगै पार्टीमा आन्तरिक मतभेद अझ चर्किने अनुमान गरिएको छ।




















