काठमाडौं — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका नेकपा (एकीकृत समाजवादी)को सिंगो कमिटीले पार्टी परित्याग गर्दै अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा नेकपा (एमाले)मा प्रवेश गरेको छ।
शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उनीहरूलाई पार्टीमा स्वागत गरे।
एमाले प्रवेश गर्नेहरूमा इन्द्रसरोवर कमिटीका उपाध्यक्ष गुणराज रुम्बा, सचिवालय सदस्यहरू जगतबहादुर स्याङ्तान, दिपेश थोकर, अनिल रुम्बा, पंचलाल डिम्डुङ, साथै पेशागत महासंघ बागमती प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष लक्ष्मी डिम्डुङ, चितवन जिल्ला अध्यक्ष पुष्प मराठ्ठा र धादिङ जिल्ला अध्यक्ष कृष्णप्रसाद दाहाल पनि रहेका छन्।
पार्टी प्रवेश कार्यक्रममा एमाले थाई कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराई, एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा प्रमुख सचेतक महेश बर्तौला लगायत नेताहरूको उपस्थिति थियो।
महासचिव पोखरेलले पार्टीमा प्रवेश गर्ने सबैलाई क्षमताअनुसार जिम्मेवारी दिइने बताउँदै, आजैदेखि पार्टीको काममा सक्रिय हुन निर्देशन दिएका छन्।




















