धनकुटा — धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानी बजार नजिकै रहेको पावरक (राजा) तालको संरक्षण तथा प्रवर्द्धन कार्य औपचारिक रूपमा सुरु हुने भएको छ।
अहिलेसम्म सिमसारमै सीमित रहेको राजा ताललाई व्यवस्थित रूपमा निर्माण गर्ने गरी गत वर्ष कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट यो परियोजना छनोटमा परेको हो। रु ३५ करोड लगानी प्रस्ताव गरिएको यो आयोजना स्थानीय तह, निजी क्षेत्र र लगानीकर्ताको सहकार्यमा अघि बढ्न लागेको हो।
चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूका अनुसार आइतबार पावरक (राजा) ताल निर्माण समन्वय समिति र सहजीकरण समिति को बैठक बसेको र सोमबारदेखि काम थाल्ने निर्णय भएको जानकारी दिए। "जग्गाधनीहरूसँग प्रारम्भिक सर्वेक्षण र डिपिआर तयार गर्ने विषयमा छलफल सुरु हुनेछ", लिम्बूले भने।
अहिलेसम्मको सर्वेक्षण अनुसार, राजा ताल क्षेत्रमा ८२ जना व्यक्तिको करिब ११३ रोपनी जमिन सिमसार क्षेत्रको रूपमा छ। लगानीकर्ताहरूले करिब रु दुई अर्ब बराबरको लगानी गरेर ताल क्षेत्रको पर्यटकीय विकास गर्ने चासो देखाएका छन्।
जग्गाधनीहरूसँग जमिन भाडामा दिने, वा आयोजनामा सेयर लिने विकल्पमा छलफल भइरहेको छ।
राजा र रानी ताल क्षेत्र पूर्णरूपमा निर्माण भएमा रोजगारी सिर्जना, स्थानीय पर्यटन प्रवर्द्धन र गाउँपालिकाको समृद्धिमा टेवा पुग्ने अध्यक्ष लिम्बूको विश्वास छ।
निर्माणाधीन भेडेटार–रबी–राँके राजमार्गसँगै जोडिएको यो ताल क्षेत्र चौबिसे गाउँपालिकाको महत्त्वपूर्ण पर्यटकीय सम्भावना बोकेको गन्तव्य हो। पालिकाभित्र रहेका अन्य साना-ठूला तालहरू समेत संरक्षणको पर्खाइमा छन्।



















