काठमाडौं — नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा रोक लगाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । विशेषगरी भण्डारी पक्षधरहरूले खुलेर असहमति जनाउन थालेपछि नेतृत्वले त्यसलाई सम्हाल्न गृहकार्य थालेको स्रोतको दाबी छ ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले पार्टीको पुरानो इतिहास स्मरण गराउँदै पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीलाई समेत बोल्न नदिएको प्रसंग उठाएका थिए । ‘इतिहास साक्षी छ, पाँचौं महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई समेत बोल्न नदिएको हो’, उनले बैठकमा भनेका थिए, ‘बहुदलीय जनवादका पक्षमा त्यतिबेला साथ दिनेहरू पनि थोरै थिए ।’

निरौलाको उक्त टिप्पणी अध्यक्ष ओलीको नेतृत्वप्रतिको आलोचनाका रूपमा बुझिएपछि महासचिव शंकर पोखरेलले उनलाई थप नबोल्न निर्देशन दिएका हुन् । साउन ९ गते शुक्रबार बिहान भण्डारीले पत्रकार सम्मेलन गर्नुअघि च्यासलमा बोलाएर निरौलालाई चेतावनीसहित चुप लाग्न भनिएको स्रोतले जनाएको छ ।

‘विद्या भण्डारीले पत्रकार सम्मेलन गर्नुभएको बिहानै निरौलालाई पार्टी मुख्यालयबाट बोलाएर मिडियामा धेरै नबोल्न निर्देशन दिइएको थियो’, स्रोतले भन्यो ।

पार्टीको हालै सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण निलम्बन गर्ने निर्णय गरिसकेको छ । विश्लेषकहरूका अनुसार उक्त निर्णय भण्डारीको सदस्यता नवीकरण मात्र होइन, आगामी दिनमा उनी सक्रिय राजनीतिमा फर्कन सक्ने सम्भावनामा पूर्णविराम लगाउने प्रयत्नका रूपमा लिइएको छ ।