विराटनगर कोशी प्रदेश सरकारद्वारा बहुविवाहलाई कानुनी मान्यता दिने गरी ल्याउन लागिएको विधेयकको विरोधमा ज्ञापनपत्र बुझाउन पुगेका महिला नेतृहरूसँग मुख्यमन्त्री हिक्कतकुमार कार्कीले झर्कोफर्को गरेका छन्।

सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेससहित पाँच दलका महिला नेतृहरू मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए। नेकपा (माओवादी केन्द्र)की नेतृ लता न्यौपानेका अनुसार कार्कीले दिउँसो १२ बजे समय दिएका थिए। तर, नेतृहरू निर्धारित समयमा कार्यालय पुगेपनि मुख्यमन्त्री अनुपस्थित थिए। ‘उहाँलाई फोन गरेर बोलाउँदा झन्डै डेढ घण्टापछि आउनुभयो’, न्यौपानेले भनिन्, ‘तर आउनासाथ झर्कोफर्को गर्नुभयो।’

ज्ञापनपत्र बुझ्ने क्रममा मुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसकी महिला नेतृहरूलाई देखाउँदै ‘तपाईंहरू पनि हल्लाको पछि लाग्ने?’ भन्दै प्रश्न गरेका थिए। महिला नेतृहरूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको मस्यौदाबारे जानकारी गराउँदा समेत मुख्यमन्त्रीले त्यसलाई गम्भीरतापूर्वक लिन चाहेनन्।

‘मुख्यमन्त्रीज्यू सुरुमा त बुझ्नकै लागि आउन मान्नुभएको थिएन। फोन गरेपछि बल्लबल्ल आउनुभयो। हामीले बुझाउन गएका ज्ञापनपत्रमा पनि उहाँले झर्को मान्नुभयो,’ न्यौपानेले भनिन्, ‘सत्तारुढ दलका महिला नेतृहरू समेत उक्त कानुनको विरोधमा जाँदा उहाँको व्यवहार लाजमर्दो खालको थियो।’

महिला नेतृहरूले बहुविवाहलाई मान्यता दिने गरी ल्याउन लागिएको कानुन संविधान, कानुनी मर्यादा र सामाजिक मूल्य–मान्यताविपरीत रहेको भन्दै खारेज गर्न माग गरेका छन्।

मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले भने मुख्यमन्त्रीले झर्कोफर्को नगरेको दाबी गरेका छन्। ‘ज्ञापनपत्र बुझ्ने क्रममा म पनि त्यही कार्यकक्षमा थिएँ,’ लुइँटेलले भने, ‘त्यस्तो केही भएको छैन। उहाँको पूर्वनिर्धारित कार्यक्रममा जान ढिलो भएकाले हतारचाहिँ थियो।’

स्रोतका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहसम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्दै बहुविवाहमा देखिने व्यवहारिक समस्या समाधान गर्न भन्दै नयाँ मस्यौदा तयार पारेको छ। तर उक्त मस्यौदामा बहुविवाहलाई नै मान्यता दिने प्रावधान राखिएको भन्दै महिला अधिकारकर्मी र दलहरूले आपत्ति जनाएका छन्।